इटहरी : श्रीमान बैदेशिक रोजगारीमा रहेको समयमा परपुरुषसँग सहवास राख्ने महिलाको मोबाइलमा अरु नै पुरुषको फोन आएपछि हत्या भएको खुलेको छ ।
गत फागुन १७ गते धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेस्ट हाउसको १०९ नम्बरको कोठामा मृत फेला परेकी इटहरी ५ तुलसा टोल बस्दै आएकी सुमित्रा तामाङको मोबाइलमा अर्कै पुरुषको फोन आएपछि हत्या भएको खुलेको हो ।
आइतबार (आज) इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नलाई सार्वजनिक गरेपछि सो कुरा खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाका अनुसार फागुन १५ गते बिहान उक्त होटलमा कोठा लिए बसेका दुवैजनाले मादक पदार्थ सेवन गरेका थिए ।
१६ गते बेलुका महिलाको मोबाइलमा अन्य पुरुषको फोन आएको र फोनमा बोलेको भन्दै धनकुटा पाख्रीबास ६ का २४ वर्षीय जीवन भनिने बिनेश रानाले हत्या गरेको एसपी थापाले बताए ।
थापाका अनुसार मृतक तामाङका श्रीमान बैदेशिक रोजगारीमा रहेका कारण एक वर्ष अगाडिदेखि नै रानासँग उनी प्रेम सम्बन्धमा थिइन् । उनीहरूको बीचमा पनि पटकपटक भेटघाट हुने गरेको खुलेको छ ।
‘फागुन १६ गते दुवैजनाले मादक पदार्थ सेवन गरेको र अन्य पुरुषको मोबाइलमा फोन आएपछि लात्ता र मुक्काले प्रहार गरेको खुलेको छ,’ इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले भने, ‘सोही विषयमा विवाद बढ्दै गएपछि रातको ११ बजेतिर दुवै हातले घाँटी थिचेर हत्या गरेका रहेछन् ।’
उनका अनुसार हत्यापश्चात मृतकको ब्यागमा रहेको पाँच हजार र मोबाइल समेत लिएर उनी फरार रहेको खुलेको छ ।
मृत भेटिएकी महिलाको अनुहार, घाँटी, जिउ, हात खुट्टा लगायतमा चोटपटक, निलडाम रहेको पाइएको थियो ।
चोट र निलडामको आधारमा उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो ।
सो क्रममा महिलाको हत्या गरी फरार रहेका रानाको खोजी गर्ने क्रममा शनिवार धनकुटाको पाख्रीबास ११ स्थित उनकै ससुराली घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट ज्यान मार्ने कसुरमा पाँच दिनको म्याद थप गरी गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान हाल वैदेशिक रोजगारीको क्रममा ब्रुनाइमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post