इटहरी : सुनसरीको रामधुनी (झुम्का) मा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय युवकले पटकपटक बलात्कार गरेपनि घटना केहीदिनअघि मात्रै सार्वजनिक भएको हो । घटना सार्वजनिक भएकै दिन राति पीडितका बुबाले आत्महत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार छिमेकी रामधुनी नगरपालिका वडा नं. ३ का २२ वर्षीय विश्वमणि आचार्यले छिमेकी बालिकालाई पटकपटक बलात्कार गरेको र घटना सार्वजनिक भएपछि पीडितका २८ वर्षीय बुवाले आत्महत्या गरेका खुलेको छ ।
‘पुष १८ गते बलात्कार भएको र त्यसको दुई महिनापछि घटना सार्वजनिक भएकै दिन उनका बुबाले आत्महत्या गरेको खुलेको छ,’ उनले भने, ‘आत्महत्या गर्ने पुरुष केही समयदेखि डिप्रेसनको रोगी पनि हुनुहुन्थ्यो भन्ने खुलेको छ ।’
पीडितले फागुन १९ गते इलाका प्रहरी कार्यालय पकलीमा जाहेरी दिएसँगै आरोपित आचार्यले आफैँ आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
‘जाहेरी आएसँगै पीडकले सोही दिन आत्मसमर्पण गरेका छन्,’ इलाका प्रहरी कार्यालय पकलीका एक प्रहरीले फोन सम्पर्कमा टाकुरासँग भने, ‘अहिले प्रहरी थुनामा रहेका उनीमाथि सात दिनको म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार आरोपित आचार्यमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पीडित बालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
कसरी भयो घटना ?
पीडितकी आमाका अनुसार आफ्नी छोरीलाई मोबाइल दिने र पैसा दिने बहानामा पटकपटक उनले बलात्कार गरेका थिए ।
पछिल्लो पटक पुष १८ गते बलात्कृत भएपनि कसैलाई सुनाए मारिदिने धम्की दिएकाले पीडितले घटना लुकाउन बाध्य थिए ।
तर, असह्य पीडा भएपछि पीडित बालिकाले आफ्ना दाजुलाई सुनाएपछि घटना भएको दुई महिनापछि मात्रै बलात्कारको घटना सार्वजनिक भएको पीडित परिवारले जनाएको छ ।
घटना भएको दुई महिनापछि बालिकाले आफूले दिसा, पिसाब गर्दा रगत आउने सुनाएपछि स्वास्थ्य परीक्षण गरिएको पीडितकी आमा बताउँछिन् ।
‘अरु नै केही बिरामी होला भनेर मेडिकलमा चेक गराउन लग्यौँ, मेडिकलले औषधि दियो, अन्य त केही सोचेकै थिएनौँ,’ उनी भक्कानिदैँ भन्छिन्, ‘मेरो छोरीको भविष्य कस्तो हुन्छ, न आम्दानी केही हुन्छ ।’
घटनाका दोषीलाई कानून अनुसार कडा कारबाही हुनुपर्ने उनको माग छ ।
घटनापछि पीडित परिवार यतिबेला विक्षिप्त छन् । मृतककी श्रीमती र दाइ यतिबेला किरिया बसिरहेका छन् । सुनसान रहेको घरमा यतिबेला छोरीको बलात्कारसँगै श्रीमानको आत्महत्याको कारण ठूलो बज्रपात परेको छ ।














Discussion about this post