इटहरी : धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमाथि खेलवाड भएको भन्दै बिहीबार प्रदर्शन गरिएको छ ।
फाइनल परीक्षाका लागि अनलाइन फारम भरेपनि परीक्षामा सामेल नगराएपछि विद्यार्थीको भविष्य खेलवाड गरेको भन्दै प्रदर्शन गरिएको हो । धरान ८ मा रहेको प्रवेशपत्र नआएपछि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
परीक्षाका लागि अनलाइन फारम भरिएपनि सातजना विद्यार्थीको प्रवेश पत्र नै नआएपछि डिन कार्यालय र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको विरुद्वमा प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा क्याम्पस प्रमुखको कुर्सी जलाइएको छ भने तोडफोड समेत गरिएको छ ।
सोही क्याम्पसका विद्यार्थी प्रभास गौतमका अनुसार अनलाइन फारम भरेका विद्यार्थीले परीक्षामा समावेश हुनुपर्छ भन्ने मागसहित आन्दोलन गरिएको हो ।
उनले भने, ‘आन्दोलनको क्रममा क्याम्पस प्रमुखको कुर्सी जलाएर प्रशासनमा ताला पनि लगाएका छौँ, खासगरी डिन कार्यालय र प्रशासनको परीक्षा शाखाविरुद्वको आन्दोलन हो, हाम्रो ।’
उनका अनुसार वार्षिक ३६ हजार रुपैँया तिरेर अध्ययन गर्दै आएका विद्यार्थीले अनलाइन मार्फत फारम भरेपनि प्रवेश पत्र नै उपलब्ध नगराएर परीक्षामा सामेल नगराएपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन् ।
‘बैँकमा पैसा जम्मा गरेर अनलाइन फारम भरिएपनि विद्यार्थीको प्रवेश पत्र नै नआउनु हदैसम्मको लापरबाही हो,’ उनले टाकुरासँग भने, ‘यसरी विद्यार्थीलाई परीक्षाबाटै बञ्चित गराएकोप्रति हाम्रो आपत्ति छ, कुनै हालतमा परीक्षामा सामेल गराइनुपर्छ ।’
कुनै पनि हालतमा परीक्षामा सामेल नगराइए आफूहरू कडा प्रतिवादमा उत्रिने उनले बताए ।
विद्यालय प्रशासनका अनुसार प्रथम वर्षमा अध्ययनरत साक्षी ताम्राकार, तेजबहादुर खत्री, दोस्रो वर्षमा अध्ययनरत सागर घिमिरे, तेस्रो वर्षमा अध्ययनरत रामविनोद घिमिरे, अरबिन्द कुमार यादव, रिसभ आचार्य र चौथो वर्षमा अध्ययनरत शैलेन्द्र कुमारले फारम भरेपनि प्रवेश पत्र नपाएर परीक्षामा सामेल हुन पाएका छैनन् ।
यता, क्याम्पस प्रमुख ओमप्रकाश ढकालले आफूहरूले डिन कार्यालयमा जानकारी गराएको र प्रवेश पत्र नपाएका विद्यार्थीलाई तत्काल परीक्षामा सामेल गराइनेगरी तयारी गरेको बताए ।
उनका अनुसार सर्भरमा समस्या भएकाले गर्दा प्रवेश पत्र नआएको हुनसक्छ । तसर्थ, परीक्षा हुन बाँकी रहेकाले सामेल गराइने उनले बताए ।
उनका अनुसार दुईदिनअघिबाट परीक्षा सुरु भएपनि छुटेका सातजना विद्यार्थीलाई परीक्षामा सामेल गराउनका लागि डिन कार्यालयसँग समन्वय भइरहेको छ ।
भिडियो














Discussion about this post