तरहरा : इटहरी उपमहानगरपालिका वडा नंम्बर २० मा रातमा हुनसक्ने आपराधिक र असामाजिक घटना तथा क्रियाकलापहरू रोक्न सौर्य ऊर्जाबाट विद्युत उपलव्ध हुने एकसय ५० सौर्य बत्ती जडान गर्ने भएको छ ।
टोल कमिटीमार्फत वडाका मुख्य चोक, टोलसहित आवश्यक क्षेत्रमा जडान गर्ने भएको छ । वडाध्यक्ष मणिराम श्रेष्ठको पहलमा उपमहानगरपालिकाबाट झण्डै दोब्बर बत्ती पाएको हो ।
‘यसै साताबाट वडामा सौर्यबत्ती वितरण गर्दै टोल कमिटीमार्फत जडान गर्नेछौं,’ श्रेष्ठले भने, ‘टोलको क्षेत्रफल र आवश्यकता अनुसार टोलमा हामी बत्ती वितरण गर्नेछौं ।’
यसअघि, वडाले बत्ती जडान गर्नका लागि संयोजनको जिम्मेवारी नै दिएर वडामा बत्ती जडान गरिएको थियो । कतिपय मर्मत गर्न बाँकी वा फेरबदल गर्ने ठाँउमा यसपटकको बत्ती प्रयोग गरिने, टोल कमिटीहरूले जनाएका छन् ।
सौर्य बत्ती जडान गरिएपछि रातभर बत्ती बल्ने भएकाले चोरी र अन्य आपराधिक घटनाहरु धेरै हदसम्म नियन्त्रणमा आउने अनुमान गरिएको छ ।
वडा सचिव बालकुमार पोख्रेलद्धारा संचालित कार्यक्रममा वडा सदस्यद्धय रामबहादुर गिरी र राधा घिमिरे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरीका अध्यक्ष नवीन गुरूङसहित वडाका टोल विकास कमिटिका संयोजकहरूको उपस्थिति थियो ।
वडाबाट पुर्जा
यसैबीच वडाका सुकुम्बासी र भूमिहिनलाई उनीहरुले भोगचलन गर्दै आएका जग्गा स्थानीय राजनीतिक दलहरु र सरोकारवालाहरुलाई साक्षी राखेर उनीहरुको सिफारिसमा वडाबाट पुर्जा प्रदान गर्ने विषयमा पनि कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले विषय उठान गरेका छन् ।
यस विषयमा उनीसहित वडा सदस्यहरु र वडा सचिवबीच बेग्लै छलफल समेत भएको छ ।
सुकुम्बासी र भूमिहिनले वडाबाट पुर्जा पाएपछि उनीहरुले सहजताकासाथ खानेपानी, बिजुलीको मिटर राख्न र बिजुली बत्तीको प्रयोग लगायत स्थानीय तहबाट प्राप्त सुविधाहरु उपभोग गर्न सकियोस् भनेर सरकारले ढिला गरे वडास्तरबाटै भए पनि वडा पुर्जा प्रदान गर्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको श्रेष्ठले बताए ।














Discussion about this post