इटहरी : मामाले चलाएको पिकअप गाडीले ठक्कर दिँदा आज (बिहीबार) मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुरमा एक जना नाबालिकाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा परेर सुनसरीको कोसी गाउँपालिका घर भएका विजय मण्डलकी तीन वर्षीया छोरी निहा मण्डलको मृत्यु भएको हो ।
सुन्दरहरैँचा ८ का २१ वर्षीय विक्रम मण्डलले चलाएको प्रदेश ३–०१–०२२ च ७२५६ नम्बरको पिकअपले ठक्कर दिँदा नाबालिका गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नाबालिका अभिभावकसँग सलकपुरस्थित मामा घरमा आएकी थिइन् । खेल्दै गरेकी बालिकालाई ‘ब्याक’ गर्ने क्रममा पिकअपले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पिकअप चालक विक्रम मण्डललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post