इटहरी : पछिल्लो समय लोप हुँदै गएको संस्कृतिको जगेर्ना गर्नका लागि इटहरीमा रहेको मोर्डन प्रिपेरेटोरी सेकेण्डरी स्कुलले नयाँ अभ्यासको सुरुआत गरेको छ ।
सांस्कृतिक गतिविधि लोप हुँदै गएकाले साताको एक दिन विद्यार्थीहरूका लागि संस्कृतिक पोशाक लागू गर्दै नयाँ अभ्यासको सुरुआत गरेको हो ।
हरेक शुक्रबार विद्यार्थीहरूले आफ्नो समुदायको भेषभूषा र संस्कृतिप्रति अभ्यस्त बनाउँदै आफ्नो मौलिक पनप्रति गौरब गर्न सिकाउने उद्देश्यले ‘आफ्नै समुदायको संस्कृतिक पोशाक लागू गरेको प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताए ।
विद्यार्थीहरूलाई ऐच्छिक रूपमा आ–आफ्नो सांस्कृतिक पोशाकमा विद्यालय आउन सूचना जारी गरेकोमा शुक्रबार उत्साहजनक रुपमा विद्यार्थीहरू सहभागी भएको उनले बताए ।
उनले भने, ‘हाम्रो आफ्नो मौलिक संस्कृति र भेषभूषाप्रति सम्मान गर्न र त्यसप्रति नानीहरूमा सानै उमेरदेखि सचेत बनाउन सकिन्छ भन्ने अभ्यास हो ।’
विद्यालय संचालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले नेपालका विभिन्न क्षेत्रमा अनेकौँ जातजाती, संस्कृति परम्परा, सामाजिक मान्यता रहेको बताउँदै विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई समेत मलजल पुग्ने बताए ।
बाल मस्तिस्कमा आफ्नो संस्कृति र भेषभूषाप्रति लगाव बढाउन सके संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने बताउँदै उनले भने, ‘हाम्रो समाज विभिन्न संस्कृतिको साझा फूलबारी हो । सबै समुदायको पोसाकको आ–आफ्नैं पहिचान र महत्व छ । संस्कृतिक भेषभूषा राष्ट्रको सांस्कृतिक अंङ्ग पनि भएकाले हाम्रो आफ्नोपन बचाउन, नयाँ पुस्तालाई आफ्नो भेषभूषाप्रति लगाव बढाउनका लागि यो किसिमको सुरुआत गरिएको हो ।’














Discussion about this post