इटहरी : इटहरीमा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् ।
दैनिकजसो इटहरीका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी, घरै तोडफोड गरी चोरी भएपनि प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिन सकेको छैन ।
यसैबीच इटहरी उपमहानगरपालिका वडा नं. ४ मा मध्यरातको समय पारेर घरको झ्यालबाट भाटा र फलामको जस्तो सामान प्रयोग गरेर कोठाभित्र रहेको मोबाइल, झोला र सुन जस्ता सामानहरू चोरी हुन थालेका हुन् ।
चोरले भाटा र फलामको भागमा सुपर ग्लु दलेर रातको समयमा सामानहरू तानेर चोरी गर्ने गिरोह सक्रिय भएका छन् ।
यहाँकी लक्ष्मी तिम्सिनाको कोठामा गएराति चोरीको प्रयास गरिएको छ ।
‘निदाइसकेको अवस्थामा ग्राउन्ड फ्लोरमा रहेको कोठाको झ्यालबाट भाटा र लौरो जसमा सुपर ग्लु दलिएको त्यसको मद्दतबाट मोबाइल, ल्यापटप र हेन्ड ब्याग तान्ने काम भयो,’ तिम्सिनाले भनिन्, ‘यसले टोलमा असुरक्षित महसुस गराएको छ ।’
स्थानीय व्यवसायी रोमन श्रेष्ठका अनुसार पछिल्लो केही महिना भित्र ४ वटा मोबाइल, पैसा राखेको पर्स, महिलालले बोक्ने हेन्ड ब्याग र सुन सोही तरिकाबाट चोरी भएको बताए ।
यता इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले चोरीका घटना पछिल्लो समय बढेकाले प्रहरीले गस्ती बढाएको प्रतिक्रिया दिए ।
यसअघि चैत १७ गते राति इटहरी २० तरहराकी कुमारी चौधरीको घरको गेटको ताल्चा काटेर कोठाको दराजमा भएको दुईतोला सुन, मंगलशुत्र, नौगेडी, झुम्का, चाँदी तथा नगद ७० हजार रुपैँया चोरी भएको थियो । तर, अहिलेसम्म शंकास्पद व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छैन ।












Discussion about this post