इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्।
झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ मियाँबारीस्थित शेर महमदको घरमा खानतलासी गर्ने क्रममा ४९० मिलिग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो।
त्यसैगरी, लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ किरातचोकस्थित डेराबाट चार जनालाई ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२ का २४ वर्षीय मनिष ओडारी, बुद्धशान्ति–१ का ३८ वर्षीय नारायण पौडेल, बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय रमेश लिम्बू र अर्जुनधारा नगरपालिका–९ का २० वर्षीय जेनिस बास्कोटा रहेका छन्।
यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका–१० का ३२ वर्षीय सुरेन्द्र गुरुङलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
उता उदयपुरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–११ गाईचोकस्थित २० वर्षीय कैलाश राईलाई १५ एम्पुल प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post