इटहरी : इटहरी ८ मा रहेको कञ्चनजङ्गा सेकेन्डरी बोर्डिङ स्कुल अब आफ्नै भवनमा सरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भवनको उद्घाटन गरेका छन् । यसअघि भाडामा रहेको भवनको आज उद्घाटन गरिएको हो ।
१३ औँ अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले पछिल्लो समय बालबालिकालाई अभिभावकहरूले चाहिने भन्दा धेरै सुविधा दिइरहेकाले समस्या निम्तिने बताए ।
उनले भने, ‘अभिभावकले घरमा बालबालिकालाई मोबाइल फोनदेखि धेरै सुविधा दिएकाले पनि भविष्यमा यसले संकट निम्तिन सक्छ ।’ उनले विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाले प्रशंसा गरे ।
विद्यालयका प्रधानाध्यापक हरि आचार्यका अनुसार कक्षा १० सम्म अध्यापन हुँदै आएको विद्यालयमा हाल ६५० बढी विद्यार्थी अध्ययनरत छन् ।
‘हामीले एसईईमा सुनसरीकै दोस्रो स्थान पनि हाँसिल गरेका छौँ,’ उनले भने, ‘विद्यार्थीलाई प्रविधिको प्रयोगबाट पनि नयाँ किसिमले शिक्षा प्रदान गर्दै आएका छौँ ।’ उनका अनुसार करीब ६ करोड बढी लागतमा निर्माण गरिएको भवनमा विद्यार्थीहरूलाई आवश्यकीय खेलकुदका कुरा पनि जडान गरिएको छ ।
‘हामीले विशेषत बच्चालाई कसरी व्यवसायी, उद्यमशील बनाउने भनेर सिकाउने गरेका छौँ,’ उनले भने, ‘प्रदेश १ मै उदाहरणीय बनाउने उदेश्यले रचनात्मक कुराहरूमा पनि जोड दिइरहेका छौँ ।’
कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले विषम् परिस्थितिमा पनि रचनात्मक किसिमका कार्यक्रम गर्दै आएको उक्त विद्यालयले गुणस्तरीय नतिजा प्राप्त गरेकाले खुशी व्यक्त गरे ।
उनले भने, ‘अभिभावक दिवसले विद्यार्थीहरूमा युनिटी पनि बन्छ, यस्ता किसिमका कार्यक्रमले विद्यार्थीको प्रतिभा पनि प्रष्फुटन हुन्छ ।’ उनले पछिल्लो समय मोबाइल फोनका कारण विद्यार्थीहरूमा डिप्रेसन सम्म हुने भएकाले सचेत हुन आग्रह गरे । कार्यक्रममा एनप्याब्सन सुनसरी अध्यक्ष नारायण सञ्जेलले आफ्नै भवनमा सरेको उक्त विद्यालयले प्रविधिमैत्री रूपमा अध्यापन गराइनुपर्ने बताए ।
कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज सिंह थिए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
उनका अनुसार कार्यक्रममा चेतनामुलक नाटक, विद्यार्थीहरूले नै कार्यक्रम सञ्चालन, नृत्य, गायन, सबै जातजातिका झाँकी प्रस्तुति गरियो ।













Discussion about this post