इटहरी : सुनसरी र मोरङमा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको बर्जु गाउँपालिका ५ मा गएराति ११ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १० प ६८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका १५ का २४ वर्षीय रत्नेश धाडेवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
उता, मोरङको उर्लाबारी नगरपालिका ८ अठियाबारीस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प १६०० नम्बर र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ६३७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर ६३७१ नम्बरको मोटरसाइकलका चालक मोरङको गोविन्दपुरका ४५ वर्षीय गणेश सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार दुर्घटनामा १६०० नम्बरको मोटरसाइकलको पछाडि सवार २९ वर्षीय आकाश लिम्बू गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post