इटहरी : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् ।
बिहीबार सुनसरीको चतरामा आयोजित विपद्का समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षापछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् ।
मन्त्री कार्कीले विपद्का बेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे ।

‘पहिले पहिले पनि बाढी आउँथ्यो, आगलागी हुन्थ्यो तर समाजकै जनशक्ति कसैले त्यो नियन्त्रण हुने हुन्थ्यो,’ उनले भने, ‘अहिले कहीँ विपद् प¥यो भने, मान्छे मोबाइल निकाल्छन र फोटो खिच्न थाल्छन्, सामाजिक सञ्जालमा हाल्छन् अनि सुरक्षाकर्मी, नेता खोइ ? भन्दै प्रश्न गर्न थाल्छन् ।’
समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए ।
विपद्का बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्वारको काम गरिएको थियो ।














Discussion about this post