सोलुखुम्बु : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेलका ५८ वर्षीय जीतबहादुर राई रहेका निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ फोर्चे स्थित बारीमा पन्छिलाई थापिएको पासोसहित राईलाई शुक्रबार पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिएका छन् । उनलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ।
विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो।
यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग टुंगा र पहेँलो चुच्चे काग टेमु लगायत १९३ प्रजातिका चरा पाइन्छन्।















Discussion about this post