इटहरी : इटहरीकी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका प्रशिक्षकद्वयलाई कारागार चलान गरिएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सामूहिक बलात्कार आरोपमा पक्राउ परेका प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका हुन् ।
अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो ।
मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
विराटनगर महानगरपालिका ४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
पीडित युवती सोही कलेजमा अध्ययनरत इटहरी उपमहानगरपालिका ८ की १९ वर्षीया छात्रा हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको जनाएको छ ।
अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेको खुलेको छ ।














Discussion about this post