इटहरी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको जिम्मा युवाहरूको काँधमा रहेको बताएका छन् ।
मोरङको विराटचौकमा शुक्रबारबाट सुरु भएको नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा सम्बोधन गर्दै ओलीले अब देश निर्माणको जिम्मा युवाहरूको काँधमा रहेको बताएका हुन् ।
देशलाई सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रको नेतृत्व गर्न युवाहरू अग्रसर हुनुपर्ने उनको तर्क छ । ‘देश निर्माण कसले गर्छ ? तपाईं हो देश बनाउने,’ उनले भने, ‘यो देश हामीले बनाउने हो, आत्मविश्वास लिनुपर्छ ।’
संसारका सबै देश लडेर बनाइएको उदाहरण दिदैँ उनले आजको दिनमा राष्ट्रिय हितमा उभिए मात्रै पुग्ने ओलीले बताए । नेपाली भुगोल असाधारण क्षमताले बनेको उनले बताए ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न युवाहरूको साथ चाहिने उनले बताए ।
देशको सेवामा विभिन्न ढंगले जेसीजले मार्गनिर्देशन गर्नुपर्ने बताउँदै उनले भने, ‘युवाहरूको स्टाटस होस् वा नेतृत्व विकास, उद्यमशीलताको हिसाबमा प्रत्यक्ष प्रभाव हुनुपर्छ ।’ उनले जेसीज सक्षम युवाहरूको संस्थाका रूपमा परिचीत रहेको समेत बताए ।
जेसीज खासगरी नेपाली शिक्षित युवाहरूका लागि महत्वपूर्ण संस्था रहेको ओलीको तर्क छ ।
‘नयाँ उद्यमशीलता र प्रविधिको विकास गर्न चाहेको अवस्थामा युवाहरूलाई नेतृत्व विकासको माध्यम र प्रोत्साहन गर्न प्रेरित छ,’ उनले भने ।
इन्द्रपुर जेसीजको आतिथ्यतामा भएको क्षेत्र क सम्मेलन शनिबार सम्पन्न हुनेछ ।














Discussion about this post