इटहरी : प्रदेश १ बास्केटबल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला र पुरुषतर्फ दुवैमा स्वर्ण पदक चुमेको छ ।
शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाई ६९–४२ अङ्कको अन्तरले पराजित गर्दै स्वर्ण पदक चुमेको हो । मोरङले सिलभर मेडलमा चित्त बुझाउनपर्यो । फाइनल खेलको प्रत्येक क्वाटरमा सुनसरीले अग्रता लिदै मोरङलाई पराजित गरेका थिए ।
खेलको प्रत्येक क्वाटरमा सुनसरी र मोरङले १९–१८, १७–८, १७–११ र १६–५ अङ्क जोडेको थियो । खेलमा सुनसरीका हेमन्त राईले ब्यक्तिगत १५ अंक जोडे ।
यसैगरी शनिबार नै ब्रन्ज मेडलका लागि इलाम र धनकुटाबीच भएको खेलमा इलामले धनकुटालाई ५९–४६ अंकको अन्तरले पराजित गर्दै ब्रन्ज मेडल हात पारे । खेलमा इलामका रिजन श्रेष्ठले ब्यक्तिगत २४ अंकको योगदान दिए ।
बिजेता तथा उपबिजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र वितरण गरे ।
धरान १६ स्थित धरान रंगाशाला कर्भड हलमा असोज ६ गतेदेखि ८ गतेसम्म बास्केटबल खेलाडी छ्नौट प्रतियोगिता सम्पन्न भएका हो । महिलातर्फ सुनसरीले स्वर्ण, झापाले सिल्भर र मोरङले ब्रन्ज मेडल जितेका छन् ।
यस्तै, छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटबल टिम छनौट गरिने छ ।
छनौट भएका खेलाडीहरूले असोज २८ गतेदेखि पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ ।












Discussion about this post