इटहरी : बैंकले ब्याजदर बढाएपछि प्रदेश १ का उद्योगी व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको ‘बैंक तथा वित्तीय क्षेत्रका कारण उद्योग व्यवसायमा देखिएका विभिन्न समस्या’ सम्बन्धी अन्तरक्रियामा बैंकविरुद्ध आन्दोलन गर्न दबाव आएको थियो।
प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा उद्योगी व्यवसायीहरुले बैंक ब्याज दर वृद्धिविरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न उद्योग वाणिज्य महासंघलाई दबाव दिएका हुन्।
ब्याजदर घटाउन माग गर्दै पहिलो चरणमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने तथा बैंकर्स संघमा पनि ज्ञापनपत्र पठाउने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
बैंकर्स संघ र राष्ट्र बैंकको मिलेमतोमा मुलुकको अर्थतन्त्र ध्वस्त पार्न लागेको कार्यक्रमका सहभागीहरुले बताएका हुन्।
बैंक तथा वित्तीय संस्थाले १ अंकको ब्याजदर कायम सहमति विपरीत हाल १८ प्रतिशतसम्म ब्याज कायम गर्न खोजेकोमा उद्योगी व्यवसायीहरु रुष्ट भएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले उद्योग व्यवसायको ब्याजदर बढेकै कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेकाले देशव्यापी रुपमा उद्योगी व्यवसायीहरु एक हुनुपर्ने समय आएको बताए।














Discussion about this post