इटहरी : शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ ।
सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो।
मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले_ का उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो। विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका उनले पुनः मतगणनाको माग गरे पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना सुरु गर्न निर्देशन दिएको थियो।
आज बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिएका छन्।
उनले २३ हजार सात सय ६६ मत प्राप्त गरेका छन् भने एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ६०४ मत पाएका छन्।














Discussion about this post