इटहरी : इटहरीमा छिमेकीबाटै १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । इटहरी उपमहानगरपालिका वडा नं. १९ ब्रह्मपुरकी बालिकालाई छिमेकीले कोही नभएको मौका छोपेर बलात्कार गरेका हुन् ।
आमा–बाबू नै घरमा नभएको मौका छोपेर बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय खेमराज गिरीलाई पक्राउ गरेको छ ।
पीडित परिवारका अनुसार गिरीले घरमा कोही नभएको समयमा घरको कोठाभित्रै आएर चुकुल लगाई बलात्कार गरेका हुन् ।
उनले मंसिर १८ गते आइतबार साँझ करीब ६ बजेतिर बालिकाको कोठामै गएर बलात्कार गरेको पीडितले जनाएका छन् । घरमा एक्लै रहेकी बालिकाले बाख्रा र कुखुरा खोरमा थुन्ने क्रममा गिरी घरको कोठाभित्र पसेको स्थानीयले जनाएका छन् ।
‘कोठाभित्र पसेपछि चुकुल लगाएर बलात्कार गरेछन्, पछि कोठाबाहिर निस्किएपछि पुनः कोठाभित्र पस्न खोज्दा बालिका चिच्याइरहेको अवस्थामा सुन्यौँ,’ एक स्थानीयले टाकुरासँग भने, ‘त्यसपछि सबै मानिस भेला हुँदा ती व्यक्तिलाई घर कोठाबाहिरै फेला पारेर प्रहरीलाई जिम्मा लगाएका हौँ ।’
स्थानीयका अनुसार शंकास्पद घटना भएको हो कि भनेर स्थानीयले उनलाई पक्रन खोजेपछि गिरीले छिमेकीमाथि ‘तँलाई मारेर जेल जान्छु’ समेत भनेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बलात्कृत भएको खबरपछि प्रहरीले सोहीदिन गिरीलाई पक्राउ गरेको हो ।
बाबू विदेशमै भएको र आमा पहाड गएको अवस्थामा छिमेकी रहेका गिरीले अपराधिक मनसायले बलात्कार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।
‘हामीले पीडित नाबालिकाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएका छौँ,’ प्रहरी निरीक्षक खड्काले टाकुरासँग भने, ‘पीडित नाबालिका नै भएका कारण अपराधिक मनसायका कारण घटना भएको देखिन्छ ।’
प्रक्राउ परेका गिरीमाथि सुनसरी जिल्ला अदालतबाट प्रहरीले १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको खड्काले बताए ।














Discussion about this post