इटहरी : विराटनगर ४ र ५ को सीमा क्षेत्रमा पर्ने जामुनगाछीदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दबाब दिएका छन् ।
स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिएका हुन् ।
उनले स्थानीयको समस्या सम्बोधन गर्नु आँफूहरूको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसित पटकपटक छलफल गर्दा पनि उक्त सडक निर्माणले गति लिन सकेको छैन ।
ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ । ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ ।
हुलाकी सडक कार्यालयले निर्माण गर्न नसके महानगर आफैंले सो सडक बनाउने मेयर कोइरालाले बताए । हुलाकी सडक कार्यालयअन्तर्गत पर्ने भएकाले सो सडक बनाउन नसकिएको उनको भनाइ छ ।
‘हामी बनाउन सक्दैनौं तपाईंहरू नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्’, कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भने, ‘पटक–पटक तपाईंहरूले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हुँ, त्यही भएर पनि म आफैं आएको हुँ । फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडकपीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।’














Discussion about this post