इटहरी : सुनसरीमा दुईवटा साइकल एकापसमा जुधेर दुर्घटना हुँदा पछाडिबाट आएको ट्याक्टरको ठक्करले एक युवतीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ७ बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा बराहक्षेत्र १० जुँगे बस्ने २१ वर्षीया सोलजा ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक ठाकुर र भारत बिहार राज्य बनेलेपटी ग्रामपञ्चायत ९ बोराहा बस्ने २३ वर्षीय अजिम साफीले चलाएको साइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा लडेको अवस्थामा विपरीत दिशाबाट आँउदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको पछाडिको चक्काले साइकलयात्री ठाकुरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट नर्सिङ अस्पाताल विराटनगरमा उपचारको क्रममा राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल, ट्याक्टर र ट्याक्टर चालक बराहक्षेत्र ११ मधुवन बस्ने ४५ वर्षीय भुनेश्वर मेहता र अर्का साइकलयात्री अजिम साफीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याक्टर चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post