इटहरी : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए । उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ ।
समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो ।
सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले मिति तय गरेको हो । त्रिविले स्ववियु चुनावका बारेमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डिन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो ।
हरेक दुई–दुई वर्षमा हुने चुनाव २०६५ सालयता नियमित हुन नसकेको हो । २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।












Discussion about this post