इटहरी : सुनसरीको दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गमा लागूऔषध गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले पाँचजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
टेम्पोमा गाँजा बरामद भएसंगै अटो चालक इटहरी उपमहानगरपालिका ११ का ३७ वर्षीय महमद हजरत अली, टेम्पोमा सवार रहेका इटहरी १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आसिस पटेललाई पक्राउ गरेको हो ।
यस्तै, अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी १२ का २७ वर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका ५ का २३ वर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post