इटहरी : इटहरीमा शुक्रबार दिउँसो १ः२० बजेतिर ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भयोे ।
१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ६ स्थित मुख्य चौकमै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५५३ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को २१ प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक इटहरी ५ की अन्दाजी ३० वर्षीया तारा निरौला (गौतम) को मृत्यु भएको हो ।
ट्रक चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘प्रारम्भिक अनुसन्धान अनुसार ट्रक चालकको सडकमा ध्यान केन्द्रित नभएकै कारण दुर्घटना भएको खुलेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले भने, ‘हामीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेका छौँ ।’
दुर्घटनामा टाउको र कम्मरमा गम्भीर चोट लागेपछि उपचारार्थ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनका अुनसार उपचारको क्रममा दिउँसो ४ बजेतिर ताराको मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक मोरङको उर्लाबरी नगरपालिका २ बस्ने ४२ वर्षीय सुमन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अुनसन्धान सुरु गरेको छ ।
मृतक निरौला इटहरीस्थित उद्गम साकोस् सहकारीकी व्यवस्थापक हुन् । उनी कार्यालयबाट आफन्तको बिहेमा जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नवीन गौतम र ताराबीच २०७२ फागुन ४ गते विवाह भएको थियो । उनीहरूकी १० महिने एक छोरी रहेकी छन् ।
यो पनि – इटहरीको मुख्य चौक नजिकै ट्रकको ठक्करबाट एक युवतीको मृत्यु














Discussion about this post