इटहरी : इटहरीमा जीवन विज्ञानको पूर्वाञ्चल जागरण उत्सव हुने भएको छ । मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै परिषद्बारे जानकारी दिइएको हो ।
जीवन विज्ञान प्रदेश १ की संयोजक बालिका खड्का भट्टराईका अनुसार यही फागुन २० गतेदेखि तीनदिने सम्मेलन हुने भएको हो ।
सुख, शान्ति एवम् समृद्धि भन्ने उदेश्यका साथ सुरु भएको जीवन विज्ञानमा हाल विश्वभर ५५ देशमा निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
जीवन विज्ञान समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान रहेको उनले बताइन् । सम्मेलनको उद्घाटनमा करीब ५ हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार जीवन विज्ञानका कार्यक्रमहरूबाट हालसम्म १५ लाख व्यक्तिले प्रत्यक्ष रूपमा लाभ लिइसकेका छन् । प्रतिष्ठानले स्थापनाको ११ वर्षमा करिब ११ सय योग तथा जीवन विकास प्रशिक्षक तयार गरी विश्वका ५५ देशहरूमा स्वस्थ, सकारात्मक एवं समृद्ध व्यक्ति निर्माणका लागि निःशुल्क सेवा पुर्याउँदै आइरहेको बताइएको छ ।
उक्त कार्यक्रममा नेपालबाहिरका दस देशका मानिसहरू सहभागी हुने जीवन विज्ञान प्रदेश १ का सचिव गणेश निरौलाले बताए ।
कार्यक्रम इटहरी रङ्गशालामा सञ्चालन हुनेछ ।
‘पूर्वाञ्चलमा रहेका विभिन्न जात–जाति, भाषा, भेष, संस्कृति, धर्म सम्प्रदायका मौलिक संस्कृतिमा आधारित नृत्यमय झाँकीहरू एउटै थलोमा प्रस्तुत गरिनेछ,’ निरौलाले भने, ‘यस उत्सवमा विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठानका आ–आफ्ना व्यानर सहित उत्साहजनक सहभागिता रहनेछ ।’
कार्यक्रममा ६५ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।













Discussion about this post