धरान : धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ अवलोकनकर्ताहरूका लागि दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी एक्स्पोमा दिउँसो १ बजेसम्म प्रवेश निःशुल्क गरिएको हो ।
दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र साँझ ५ बजे पश्चात अवकोलन गर्न आउनेका लागि फरक टिकट मूल्य निर्धारण गरिएको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले बताए ।
‘दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश शुल्क प्रति टिकट ५० रुपैयाँ र बेलुका ५ बजेपश्चात एक्स्पो अवलोकन गर्न चाहनेका लागि प्रति टिकट २०० रुपैयाँ निर्धारण गरिएको छ’ संयोजक श्रेष्ठले भने, ‘सबैको समान सहभागिता होस् भन्ने उद्देश्यसहित दुई मूल्य निर्धारण गरिएको हो ।’
आयोजकका अनुसार साँझको समयमा साङ्गीतिक, रमाइलो र मनोरञ्जनात्मक प्रयोजनका लागि सहभागिता धेरै हुने भएकाले फरक मूल्य निर्धारण गरिएको हो ।
‘समय अनुसार टिकट मूल्यमा अन्तर छ तर यसलाई अलि महङ्गो भनेर भन्न नमिल्ला कि,’ संयोजक श्रेष्ठले भने, ‘नेपालका अन्य स्थानमा हुने मेला, महोत्सव, एक्स्पोको प्रवेश शुल्कभन्दा धेरै राखेका छैनौँ । दुई फरक–फरक दर भएकाले मानिसलाई महङ्गो लागेको हुनसक्छ ।’
फागुन ११ गते देखि २० गतेसम्म आयोजना हुने एक्स्पोमा अवलोकनका लागि आउने शैक्षिक संस्था, समूह र संस्थालाई भने विशेष छुटको व्यवस्था गरिएको छ ।
‘उत्पादनबारे जानकारी, व्यवसायिक ज्ञान, उद्यमीसँग भेटघाटका लागि आउने विद्यालय, कलेज, विश्वविद्यालय, कृषि समूह, संस्था, सहकारीलाई प्रवेश शुल्क लगायत अन्य शुल्कमा छुट प्रदान गर्ने व्यवस्था गरिएको छ’ श्रेष्ठले भने, ‘सुनसरी क्षेत्रको व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने कार्यमा सहभागी हुन आउनेका हकमा विशेष व्यवस्था गरेका छौँ ।’
निःशुल्क प्रवेश, शैक्षिक र संस्थागत छुटबाहेक एक्स्पो अवलोकनर्ताका लागि धरानका पाँच स्थानबाट निःशुल्क बस सेवा, एक्स्पो स्थलसम्मको यात्रामा अटो रिक्सामा २० प्रतिशत छुट, एक्स्पोमा सहभागी हुन आउनेका हकमा आवास प्रयोजनका लागि होटलमा छुटसहितको अफर आयोजकले ल्याएको छ ।
एक्स्पोमा तीन लाख बढी मानिसले अवलोकन गर्ने र ३० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ ।














Discussion about this post