धरान : धरानमा जारी सातौँ हराइजन बास्केटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ ।
आज (शनिबार) सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ७० का विरुद्व १०० स्कोरले पराजित गर्दै ५ औं संस्करणको विजेता आर्मीले दोस्रो पटक उपाधी जितेको हो ।
विभागीय डर्बीमा भएको उपाधी भीडन्तमा पहिलो र दोस्रो क्वाटरमा झिनो स्कोरले अग्रता कायम गरेको आर्मीले त्यसपछिको बाँकी क्वाटरमा फराकिलो स्कोर निकाल्दै सहज जीत हात पारेको हो ।
उपाधी विजेता आर्मीले नगद एक लाख ११ हजार पायो भने उपविजेता पुलिसले नगद ५५ हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जन भए ।

उनले नगद १० हजार पुरस्कार पाए । आर्मीकै पूर्णबहादुर खड्का उत्कृष्ट कोच घोषित हुँदै नगद ३ हजार पाए । उदयीमान खेलाडी आयोजक हराइजन क्लबका सर्वधन राई घोषित हुँदै नगद ५ हजार पाए ।
पुलिसले पहिलो सेमिफाइनलमा आयोजक हराइजनलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने गत बर्षको उपबिजेता समेत रहेको आर्मीले अन्तिम सेमिफाइनलमा साविक विजेता टाईम्स कलेज काठमाण्डौँलाई पराजित गरेको थियो ।
फागुन २१ गतेदेखि भएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी थिए ।
यस्तै, खेलकुदको समापन समारोहमा पत्रकार लक्ष्मण थापा सम्मानित भएका छन् । नगद पाँच हजारसहित आयोजकका अध्यक्ष श्री भक्त राईले सम्मान गरेका थिए ।













Discussion about this post