इटहरी : इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (आइतबार) भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
खेलको ४५ औं मिनेटमा आशिष चापागाईंले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ मिनेटमा थप १ गोल गरेको थियो ।
टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गर्दै टिमलाई मजबुत बनाए । खेलमा आयोजक राजा क्लबले गोल गर्ने थुप्रै अवसर पाएपनि गोल गर्न चुक्यो ।
इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
यस्तै, खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रसान्त लक्ष्यम घोषित हुँदै नगद १० हजार पाए ।
उनलाई इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र इटहरीका डीएसपी माधव काफ्लेले पुरस्कार प्रदान गरे ।














Discussion about this post