इटहरी : कोसी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
गत फागुन १७ गते प्रदेशको नामाङ्कनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले स्थगित अवस्थामा रहेको प्रदेशसभा बैठक अन्त्यका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारको सिफारिस अनुसार कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।
कोसी प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन गत २०७९ पुस १७ गते आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३ औं बैठकले प्रदेशको नाम कोसी राखेको थियो ।
कोसी नामकरण राखिएपछि पहिचान पक्षधरहरू भने पहिचानकै आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत छन् ।














Discussion about this post