इटहरी : इटहरी उपमहानगरपालिकाको क्षेत्राधिकारभित्र धरानका मेयर हर्क साम्पाङले सीमा बोर्ड राख्न लगाएपछिको विवाद थप चर्किदै गएको छ ।
आइतबार दिउँसो मेयर साम्पाङले कर्मचारीलाई बोर्ड राख्न निर्देशन दिएपछि इटहरीको क्षेत्राधिकार भित्र राखिएको बोर्ड युवा संघ इटहरीले उखेलेको थियो ।
युवा संघले बोर्ड उलेखेपछि मेयर साम्पाङले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माग पत्रमार्फत बोर्ड हटाएको विषयमा युवा संघ इटहरीमा आबद्द कोही कसैलाई कारबाही नगर्न भनेका छन् ।
‘यदि कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’ माग पत्रमा भनिएको छ ।
जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ ।
सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङलाई आग्रह समेत गरेका छन् । ‘संवेदनशील र गम्भीर विषयलाई अन्तरपालिकाको साँझा समस्याहरू आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पौडेलले भनेका छन् ।
उनले २०१० साल भन्दा अगाडिबाट इटहरीकोे सीमासेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न सुल्झाउँदै इटहरी र धरानका नागरिकबीच कुनै पनि किसिमको कलह, द्दन्द, द्धैष, बैमनश्यता र मतभेद सिर्जना हुने किसिमका कार्य नगर्न/नगराउन आग्रह गरेका छन् ।
मेयर पौडेलले धरानका मेयर साम्पाङलाई धैर्य भएर अगाडि बढ्न समेत सुल्झाएका छन् ।
सीमा सम्बन्धी हेर्ने सम्बन्धित निकायसँगको सहकार्यमा वार्तामार्फत समाधान गर्न आग्रह गर्दै पौडेलले यसलाई जिम्मेवार व्यक्ति र अन्य नागरिकहरूलाई पनि धैर्य हुन आग्रह गरेका छन् ।














Discussion about this post