विराटनगर : सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोसी प्रदेशकी पूर्व सांसद गुलेफुन खातुन कैद भुक्तानका लागि कारागार चलान भएकी छन् ।
जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो । शुक्रबार दिउँसो अदालतमा उपस्थीत भएकी खातुनलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
‘सरकारी सहीछाप र दस्तखत किर्त’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैदको फैसला गरेको थियो । जिल्लाको कैदको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गरेको थियो ।
उच्च अदालत विराटनगरको फैसला विरुद्ध खातुनले सर्बोच्च अदालतमा सुनुवाईका लागि निवेदन दायर गरेकी थिइन् ।
सर्वोच्चमा ‘इन्साफ दोह्रोर्याइ पाउ’ (दोप) भन्दै दायर गरेको निवेदनमा २०७९ जेठ २५ गते सर्वोच्चले निस्सा नदिने आदेश दिएको थियो । तर सोही मुद्दाका प्रतिवादी विजय कामतलाई भने सर्बोच्च अदालतले सुनुवाईका लागि निस्सा दिएको थियो ।
सर्वोच्चबाट निस्सा नपाएपछि खातुन मलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को सुविधा माग गर्दै अदालतमा उपस्थीत भएकी थिइन् ।
सो दफामा एक वर्षसम्म कैद सजाय तोकिएका कैदीले दिनको ३०० रुपैयाँ शुल्क तिरेर बाहिर बसेर कैद भुक्तान गर्न सक्ने व्यवस्था छ । अदालतले उनको निवेदनमाथि अर्को साता सुनुवाई गर्नेछ ।
‘कानुन हामीले बनाएको हो, मैले नै कानुनको अपमान गर्न मिलेन,’ उनले भनिन्,‘ कानुनको इज्जत गरेर आफै अदालतमा उपस्थीत भएको छु, कानुन भित्र बसेर न्याय अन्यायको फैसला गरिदिनु ।’
सर्वोच्चबाट निस्सा नपाएपछि पुनः सुनुवाइका लागि निवेदन दिएर जिल्ला अदालतमा उपस्थित भएकी खातुनले कारागारमै बसेर न्यायका लागि लड्ने बताइन् ।
एमालेको पूर्व समानुपातिक प्रदेश सांसद खातुनले तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो ।













Discussion about this post