इटहरी : धनकुटाबाट धरानतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा घाइते भएकी एक किशोरीको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका ९ खुरिलामा जेष्ठ २६ गते बिहान भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका ४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनका दाजु प्रेम योञ्जनले बताए ।
उनका अनुसार मृतक तामाङको १२ दिन देखी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो ।
मृतक प्रिस्किला इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत थिइन् । इटहरीमै एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी उनी धनकुटा स्थित घरबाट क्याम्पस र विद्यालय भ्याउने गरी प्रमाणपत्र लिएर बिहान ५ बजे घरबाट निस्केकी थिइन् ।
इटहरी आउने क्रममा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको उक्त टाटा सुमोमा धनकुटा ४ स्कुल डाँडाबाट लिफ्ट मागेर चढेकी उनी करिब २५ मिनेटमा दुर्घटनामा परेकी मोक्तानले बताए ।
५ जना सवार भनिएको उक्त गाडीमा सवार दुई जना मोरङ जहदा गाउँपालिका ३ का २३ वर्षीय अजय महला र जहदा ४ का २४ वर्षीय सुरेश मुखिया घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, गाडीमै सवार फरार रहेका अन्य दुई जना भारतीय नागरिक रहेको बताइएको छ ।
गाडीमा भारतको कस्माहा गाउँपञ्चायत–३ जोगमुनी ठेगाना भएका श्रवणकुमार यादवको नाममा जारी भएको ड्राइभिङ लाइसेन्स प्रहरीले बरामद गरेको थियो ।
दुर्घटना भएको उक्त टाटा सुमोको नम्बर प्लेट बिहारको कटियारका सञ्जय यादवको नाममा दर्ता भएको ट्रकको रहेकोले उक्त सुमो चोरीको भएको खुलेको मृतकका भेना विनय मगरले बताएका छन् ।
तस्करीमा प्रयोग भएको गाडी भएकाले र फरार दुई जना पक्राउ नपर्नुले दुर्घटनाको कारणमा शङ्का गर्न सकिन दाजु प्रेमले बताए ।















Discussion about this post