इटहरी : इटहरीस्थित जनता माविमा यो वर्षदेखि कानुन विषयका कक्षाहरू पढाइने भएको छ ।
विद्यार्थीहरूप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरू थप गरिएको विद्यालयका प्रधानाध्यापक पशुपती सिग्देलले जानकारी दिए ।
प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरूलाई व्यवहारिक र उपयोगी शिक्षा दिन आँफूहरू अग्रसर बनेको उनले बताए । शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान विषयका कक्षाहरू पढाइ भइरहेकोमा यो वर्षदेखि कानुन विषय थप हुने उनले बताए ।
स्कूलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरत छन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । यसवर्ष एक हजार जना विद्यार्थी भर्ना लिने तयारी रहेको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
‘भवन र कोठा अभावमा हामीले धेरै विद्यार्थी भर्ना लिन सकिरहेका थिएनौं,’ उनले भने, ‘यो पटकदेखि हामी प्लस टुमा मात्रै दुई हजार जना विद्यार्थी भर्ना लिने तयारीमा छौं ।’
विद्यालयमा अहिले सबै कक्षा गरेर जम्मा तीन हजार एक सय विद्यार्थी छन् । व्यवस्थापन सुधार, भौतिक पुर्वाधार निर्माण भएसँगै विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढेको विद्यालयको दाबी छ ।












Discussion about this post