धरान : मालपोत कार्यालय धरान पानवारीमा सरेको छ ।
दुई वर्ष अघि मालपोत कार्यलयको भवन सम्पन्न भएपनि कार्यालय भने सरेको थिएन । तर, बुधबारदेखि भने कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो ।
त्यसबेला धरान उपमहनगरपालिकाको भवनबाट सञ्चालनमा आएको कार्यालय त्यसपछि अर्थात ६ महिना पछिदेखि धरान १६ मा रहेको कृषि विकास बैंकको घर भाडामा लिएर सञ्चालन भइरहेको थियो ।
मालपोतका वर्तमान कार्यलय प्रमुख चन्द्रप्रसाद मिश्रले लामो समयको प्रयासपछि मालपोत कार्यालय धरान ६ पानवारीमा ल्याइएको बताए । तत्काल पार्किङको केही समस्या भएको बताउँदै यहाँका जनप्रतिनिधहरूसँग छलफल भइरहेको उनले बताए ।
स्थानीय कल्याणबहादुर बस्नेतले कृषि विकास बैंकको भवनभन्दा फराकिलो, आफ्नै भवनबाट सञ्चालन हुदा पहिलो दिनमै भीडभाड कम देखिएको बताए । स्थानीयबासीहरूले यहाँ मालपोत आएपछि आँफूहरू हर्षित बनेको उनले बताए ।
०७१ साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय र मन्त्रालय अन्तर्गत प्रशासनिक समितिको सोही सालको असोज ६ गते मालपोत कार्यालय सदरमुकाम इनरुवासहित धरानमा समेत राख्ने निर्णय भएको थियो ।
त्यसबेला धरान उपमहानगरपालिका, विष्णुपादुका गाविस, हाँसपोसा गाविस र बराहक्षेत्र गाविसलाई समेट्ने गरी कार्य सम्पादन गर्ने भनिए पनि तत्कालीन हाँसपोसा गाविस र अहिले इटहरी उपमहानगरपालका २० का सर्वसाधारणले भने इनरुवाबाटै सेवा लिइरहेका छन् ।
मालपोत कार्यालयका तत्कालीन प्रमुख भीमप्रसाद गौतम तथा नापी कार्यालयका तत्कालीन प्रमुख कृष्णप्रसाद न्यौपानेले सो क्षेत्रमा एक–एक कट्ठा जमिन लाभ लिएको भन्दै लिम्बूवान मञ्चले विरोध जनाएको थियो ।
साथै, कोरोना संक्रमणका कारण पनि मालपोत आफ्नै भवनमा सर्न सकेको थिएन ।














Discussion about this post