इटहरी : कोसी प्रदेशमा पाँच दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले आइतबार साँझ एक सूचना जारी गर्दैै पाँच दिनभित्र समय दिएर नयाँ सरकार गठनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन् ।
अब दलहरूले असार २१ गतेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ । गत शुक्रबार एमालेका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका छन् ।
कार्की पदमुक्त भएसँगै कोसी प्रदेशमा नयाँ सरकारका लागि गठबन्धन दलहरूबीच छलफल भइरहेको छ ।
कोसीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेश सभा सदस्य छन् ।
९३ सदस्यीय कोसी प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ ।














Discussion about this post