इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का लालबहादुर विश्वकर्माको पक्षमा प्रदर्शन गरिएको छ ।
तरहरास्थित सिंहदेवी ज्वेलर्समा कालीगढका रूपमा रहेका लालबहादुर अदालतबाटै अन्यायमा परेपछि स्थानीयबासीले प्रदर्शन गरेका हुन् ।
जिल्लाले गरेको फैसलाविरुद्ध आँफू निर्दोष रहेको बताउँदै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दासमेत फैसला नभएपछि प्रदर्शन गरिएको हो ।
उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढेपनि धेरैपटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सर्दै आएको छ ।
यस्तो छ घटना
२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले २०७२ सालदेखि संचालनमा आएको सिंहदेवी ज्वेलर्सविरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए ।
एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्स विरुद्ध अर्को मुद्दा दर्ता भयो ।
अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा पर्यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगढको रुपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइयो ।
उक्त मुद्दामा २०७८ पुस १९ गते फैसला आयो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।
उक्त मुद्दामा ज्वेलर्सका संचालक तथा मुख्य प्रतिवादी दिपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् । त्यसमध्ये लालबहादुर विश्वकर्मा उक्त ज्वेलर्समा काम गर्ने कालिगढ मात्रै थिए ।
लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका छन् ।













Discussion about this post