इटहरी : इटहरीमा चारजना सवार मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका तीनजनाको सामूहिक अन्त्यष्टि गरिएको छ ।
कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति १०ः४० बजेतिर इटहरी १७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएको थियो ।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार चारैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको थियो ।
उनीहरूको पोस्टमार्टम गरी आजै इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सामूहिक अन्त्यष्टि गरिएको हो । एकै गाउँका तीनजनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
चेकजाँचमा रहेको ट्राफिक प्रहरीलाई छलेर भाग्ने क्रममा मोटरसाइकल तीव्र गतिमा रहेको र पिकअपसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो पनि – इटहरीमा चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनको मृत्यु














Discussion about this post