इटहरी : इटहरी–धरान सडकखण्डस्थित चारकोसे जंगलमा रहेको सेउती पुल नजिकै गत साउन ५ गते गोली प्रहार गरी हत्या भयो ।
विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको थियो ।
हत्यामा संलग्न तीनमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी राजेशनाथ बास्तोलाका अनुसार पक्राउ पर्नेहरूमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भनिने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङ रहेका छन् ।
पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए ।
होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूहमध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको बास्तोलाले जानकारी दिए ।
‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरिरहेका संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने, ‘रोहित र किशोरी सेउती पुलको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गल भागेको देखिएको छ ।’
रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले सबै कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान गरेका छौँ,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।’
लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एक जना फरार रहेकाले खोजी कार्य भइरहेको डीआईजी बास्तोला बताउँछन् ।
पक्राउ परेकामध्ये तिमिल्सिना जबरजस्ती करणी मुद्वामा यसअघि १० वर्ष कैद भुक्तान गरी दुई महिनाअघि मात्रै कारागारबाट छुटेका थिए ।
यस्तै, तामाङ लागूऔषध मुद्वामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडि छुटेका हुन् । उनीहरू दुवैजना अहिले लागूऔषध दुव्र्यसनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान, खुकुरी २ थान, मोबाइल ५ थान, आँैठी १ थान र फायर भएको गोलीको खोका१ थान बरामद गरेको जनाएको छ ।
उनीहरू यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरूमाथि १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post