झापा- झापाका चिया श्रमिकले ज्याला वृद्धि, सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेलगायत माग राखेका छन्। चिया मजदुर आबद्ध संगठनले विभिन्न मागसहित शनिबार काँकडभिट्टामा प्रदर्शन गरेका छन्।
श्रमिकको न्यूनतम पारिश्रमिक तथा पत्ति डबली वृद्धि, रोजगार सम्झौता, योगदानमा आधारित सामाजिक सुरक्षालगायत व्यवस्था लागू गर्नुपर्ने कृृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए।
तीन वर्षदेखि चिया श्रमिकले न्यूनतम पारिश्रमिकसमेत नपाएको उनको भनाइ थियो। श्रम ऐन, २०७४ मा श्रमिकले दैनिक पाँच सय ७७ रुपैयाँ ज्याला पाउने उल्लेख भए पनि बगान र प्रतिष्ठानमा कार्यरत श्रमिकले चार सय ३७ रुपैयाँ मात्र पाउँदै आएको उपाध्यक्ष राईले बताए। ‘सरकारले तोकेको दैनिक ज्याला र सुविधा नपाउँदा चिया मजदुर भोकै पर्ने अवस्था आएको छ,’ उनले भने।
बीस वर्षदेखि कार्यरत श्रमिकको रोजगारी, स्वास्थ्य, पेन्सन र सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ। दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग छ।
झापामा एक सय ३२ साना र ६९ ठूला तथा संस्थागत चिया बगानमा गरी ७० हजार श्रमिक कार्यरत छन्। जिल्लामा १० हजार हेक्टरमा चिया खेती हुने गरेको तथ्यांक छ।














Discussion about this post