संखुवासभा : संखुवासभा कारागारमा मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् ।
कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारीपछि जिल्ला कारागार संखुवासभामा मृत्यु भएका दुई कैदीको शव आफन्तले सोमबार बुझेका छन् ।
कारागार प्रमुख राजेन्द्र घिमिरे र सहायक निरीक्षक लक्ष्मी चौधरीको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको सार्वजनिक भएको छ ।
युवकहरुको मृत्यु भएको ६ दिनपछि आफन्तले शव बुझेका हुन् । मृतक दुवै जनाको आजै अन्त्यष्टि गरिने आफन्तले जनाएका छन् । गएको बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो ।
किटानी जाहेरीपछि शवको पोष्टमार्टम गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले आइतबारसम्म शव बुझ्न मानेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी हत्याको घटनामा १० प्रहरी र ५ कैदीबन्दीमाथि थप अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।
मादी नगरपालिका ५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गरेका थिए ।
कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार बिहान मृत्यु भएको थियो ।














Discussion about this post