इटहरी : इटहरी ६ मा रहेको मोडर्न बाल क्लबले बाल दिवसको अवसर पारेर विविध कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार (आज) विद्यालय प्राङ्गणमा विविध कार्यक्रम गर्दै विद्यार्थीहरूले बाल दिवस मनाएका हुन् ।
विद्यालयकै विद्यार्थीहरू पवन राई र दृष्टिका बाँस्कोटाले सञ्चालन गरेको कार्यक्रममा रुस्मिता खत्रीले स्वागत मन्तव्य राखिन् ।
विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा कविताहरू प्रस्तुत गरेका थिए । खासगरी विद्यार्थीकै प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक मणिकुमार पौडेलले बालबालिकाप्रति नै समर्पित कार्यक्रम रहेकाले उनीहरूका प्रतिभा प्रस्तुत गरिएको बताए ।
‘बालबालिकाको सुनिश्चित भविष्य निर्धारणका निम्ति पनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘हामीले सातामा एक दिन बुक फ्रि डे मनाउँदै आएका छौँ ।’ उनले हरेक शुक्रबार पुस्तक बाहेकको सिकाइलाई जोड दिदैँ आएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव वाग्ले प्रमुख अतिथि थिए । उनले विद्यार्थीमा भएका अथाहा प्रतिभालाई प्रष्फुटनसँगै अतिरिक्त क्रियाकलापमा पनि आत्मबल बनाउन यस्ता कार्यक्रमले सहज पुग्ने बताए ।
‘विद्यार्थीमा असीमित प्रतिभा हुन्छन्, भोलिका दिनमा यीनै विद्यार्थीहरू हाम्रा भविष्य हुन्,’ उनले भने, ‘यस्ता दिवसमा मात्रै विद्यालयले कार्यक्रम गर्ने नभइ हरेक साता कार्यक्रम गर्दै आएको छ । यसले पनि नयाँ अभ्यास सुरु भएको छ ।’
विद्यालयकै विद्यार्थी लोमश सुवेदीको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।
हरेक भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइन्छ । यसपटक विविध कार्यक्रम गरी देशैभर ५९ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो।
नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल संगठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।














Discussion about this post