आदरणीय अभिभावक ज्यू, नमस्कार,
वडा दसैँ, शुभ दीपावली एवम छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस शैक्षिकसत्रको दोश्रो त्रैमासिक परीक्षा पनि सकिएको छ ।
मिति २०८० मंसिर ४ गतेबाट गतेबाट नियमित कक्षा सञ्चालन हुनेछ । अब मंसिर ४ गतेसम्म नानीबाबुहरू घरपरिवारमा आमा–बुबा, दिदीबहिनी, दाजुभाईसँग आफ्नो अमूल्य समय बिताउनेछन् । यो समयलाई सुन्दर र सृजनात्मक बनाउन घर परिवार पहिलो पाठशाला भएकाले बालबालिकाको मनोभावना बुझेर बालबालिका अनुकूल ‘सकारात्मक अभिभावक’को व्यवहार गर्न आग्रह गर्दछौं ।
बालबालिकाको उज्ज्वल भविष्यको लागि पढाई निकै महत्वपूर्ण विषय हो । यो विषयलाई आदरणीय अभिभावकज्यूहरुले राम्रोसँग बुझ्नु भएको कुरामा दुईमत छैन ।
तर, हाम्रा नानीबाबुहरूलाई पाठ्यपुस्तकमा आधारित भएर विद्यालयमा दिइने औपचारिक शिक्षामात्र पर्याप्त छैन । नानीबाबुहरूले जीवनमा उल्लेख्य प्रगति गर्न र सक्षम नागरिक बन्न बाल्यकालदेखि दिइने अनुशासन र मर्यादासहितको व्यवहारिक सिकाईले बलियो आत्मबल बनाउन मद्दत गर्दछ ।
अनुशासन र बलियो आत्मबल बालबालिकाको उज्वल भविष्यका लागि पहिलो सर्त हो । त्यसपछि मात्र पढाई र सिकाई आउने कुरा विभिन्न विद्वानहरूले बताउँदै आउनु भएको विषय हो । यस बिषयमा हामी शिक्षक, अभिभावकहरू गम्भीर बन्नै पर्दछ ।
आदरणीय अभिभावकहरू,
आफ्ना छोराछोरीलाई अनुशासन, मर्यादा र सत्चरित्रका विषयमा बुझ्न सहयोग गरिदिनुहोस् । तपाईँले के ख्याल गरिदिनुहोस् भने, बालबालिकाले तपाईंले भन्नुभएको कुराबाट कम र तपाईंको व्यवहारबाट बढी सिक्छन् ।
बालबालिकाको उज्वल भविष्यका लागि पढाई एकदमै महत्वपूर्ण विषय हो । तर, पहिलो महत्वपूर्ण विषय होइन । पहिलो महत्वपूर्ण विषय अनुशासन हो । त्यसपछि असल चरित्र निर्माण हो । त्यसपछि आत्मविश्वासी बन्नु हो । यसपछि मात्र पढाई आउँछ । अनुशासन, असल चरित्र र आत्मविश्वास बिनाको पढाइले असल नागरिक बन्न र जीवनमा प्रगति पथमा आशातीत सफलता पाउन गाह्रो हुन्छ ।
सकारात्मक अभिभावकको रूपमा तपाईंले बोल्नेभन्दा बढी नानीबाबुहरूलाई सुन्नुहोस् ।
नानीबाबुहरूलाई केही भन्नुभन्दाअघि आफ्नो संवेग जाँच्नुहोस् । कुनैपनि गतिविधिको सीमा निर्धारण गर्नुहोस् । तपाईँले नानीबाबुहरूबाट गर्ने अपेक्षा उमेर सुहाउँदो छ कि छैन भनेर जाँच्नुहोस् । तार्किक परिणाम मात्र भोग्न लगाउनुहोस् ।
मुख्य कुरा, नानीबाबुहरूले सिक्दैछन् भन्ने कहिल्यै नबिर्सिनुहोस् । सकारात्मक अनुशासन तथा प्रारम्भिक सिकाइको उचित वातावरण दिन सक्दो प्रयास गरिदिनुहोस् ।
यो विदामा नानीबाबुलाई सबैजनासँग स्नेहपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रूपमा सिकाईदिनुहोस् । नानीबाबुहरूलाई कुराकानी गर्न, सरसफाइ गर्न, पोसिलो खानाको महत्व बुझ्न सहयोग गर्नुहोस ।
यी महत्वपूर्ण कुरा सिकाउन नछुटाउनुहोस्
१. घरमा सँगै बसेर खाना खाने समयमा किसानको कर्म र परिश्रमको बारेमा बुझाउँदै खाना खेर फाल्नु हुँदैन भन्ने कुरा बुझाईदिनुहोस् ।
२. आफ्नो घरमा व्यवहारिक कुराहरू जस्तैः सरसफाई गर्न, खाना खाएको प्लेट सफा गर्न, जसबाट श्रम÷कामको मूल्य बुझ्न मद्दत गरिदिनु होस् ।
३. भान्छामा आमाबाबुलाई तरकारी काट्न, फलफूल काट्न साथै पकाउन सहयोग गर्न प्रेरित गर्नुहोस् ।
४. कहिलेकाहीँ नानिबाबुहरूलाई कार्यस्थलमा लगेर तपाईंले आफ्नो परिवारको लागि कति कडा परिश्रम गरिरहनुभएको छ, बुझ्न दिनुहोस् ।
५. नानीबाबुहरूलाई प्रकृति र प्राकृतिक बस्तुहरूसँग रमाउन, पानी, माटोसँग खेल्न प्रेरित गरिदिनुहोस् । प्रकृतिमा खेलेर, अवलोकन गरेर नानीबाबुहरूले सिर्जनात्मक कुरा गर्न, वास्तविकता महसुस गर्ने अवसर दिनुहोस् । नानीबाबुहरूले अनुभव गरेका कुरा लेख्न लगाउनुहोस् ।
६. नानीबाबुहरूलाई मोबाइलबाट सकेसम्म टाढा राख्नुहोस् । मोबाइलको प्रयोग नानीबाबुहरूको स्वास्थ्यको लागि हानीकारक हुने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् । तर, कम्युटरलगायत अन्य विद्युतीय उपकरणहरूको उचित प्रयोगबाट हुने लाभहरूबारे नानीबाबुहरूलाई बुझाइदिनुहोस् । यथासम्भव प्रयोगात्मक विधिको पनि प्रयोग गर्नुहोस् ।
७. हुर्कदै गरेका नानीबाबुहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस् । धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस् ।
८. सूचना प्रविधिको बढ्दो प्रयोगकाबीच बाबुनानीहरूलाई उद्देश्य र नैतिकताको बलियो भावना विकास गर्न मद्दत गर्नुहोस् । नानीबाबुहरूलाई उद्देश्य, नैतिकता र मूल्यहरूको बलियो भावना विकास गर्न मद्दत गर्न सकेमा मात्र बालबालिकाको भविष्यका लागि सफल आधार बनाउन सकिन्छ । यसका लागि जटिल नैतिक मुद्दाहरूबारे हुने छलफलहरूमा नानीबाबुहरुलाई संलग्न गर्न सकिन्छ ।
९. बालबालिकालाई जाति, रङ, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य आस्था, जातीय वा सामाजिक उत्पति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतको आधारमा भेदभाव नगरी समान रूपमा सम्मान गर्नुपर्दछ भन्ने कुरा बुझ्न मद्दत गरिदिनुहोस ।
यसका लागि नानीबाबुहरूको दुई महत्वपूर्ण पाठशालाहरू घर र विद्यालयले संयुक्त रूपमा सहकार्य गर्न सक्दा मात्र बालबालिकाको उज्वल भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने अपेक्षासहित यो पत्र पठाएका छौं ।
(पौडेल इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी र्बोिर्डङ स्कुलका प्रधानाध्यापक हुन् ।)













Discussion about this post