इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताएका छन् ।
इटहरीमा बिहीबार सुनसरी जिल्लाभरका स्थानीय तहका न्यायिक समितिका प्रमुखबीच भएको छलफलमा प्रमुख अतिथि रहेका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्न हतियारसहितको प्रहरी आवश्यक भएको बताएका हुन् ।
स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भनेपनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको बताए ।
‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अगाडि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो छ,’ उनले भने ।
अप्ठ्यारो फुकाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्ने उनको भनाइ छ ।
‘समन्वय र सहकार्यका आधारमा ऐन–कानुनको कार्यान्वयन हेरेर तिनीहरूमा आवश्यक परिमार्जन पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो न्यायिक समितिले निर्णय गरेको कुरा कार्यन्वयनमा झन्झटिलो अवस्था छ । हाम्रो न्यायिक समितिको निर्णय कार्यन्वयनमा हाम्रै हतियारसहितको प्रहरी चाहियो ।’
आफ्नो निर्णय कार्यन्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनुपर्ने बताउने गरेको बताउँदै मेयर पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकारसँग आग्रह गरेका हुन् ।
उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी, धरान उपप्रमुख आइन्द्रविक्रम बेघालगायतले बोलेका थिए ।














Discussion about this post