तेह्रथुम : तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ।
विसं २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसित रु १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो । पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।
तीन मिटर चौडाइ तथा एक सय ५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताए। पाँचवटा पिलर बन्नुपर्नेमा चारवटा मात्र निर्माण गरिएका छन् । विसं २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गर्दैछौँ’, उनले भने।
पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको, भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताए।
पटक-पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै गत म्याङलुङका अर्जन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
म्याङलुङवासीले तमोरको पुल बनाउनका लागि दबाब दिन समिति निर्माण गरी म्याङलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि दबाब दिन सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।














Discussion about this post