इटहरी : कोसी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक रहेको प्रस्ताव दर्ता भएको थियो ।
सभामुख पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।
गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । सत्ता गठबन्धनले राप्रपालाई कोसी प्रदेशको सभामुख दिने निर्णय गरेसँगै केहीदिनअघि राप्रपाले पनि उनै विष्टलाई सभामुख बनाउने निर्णय गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।
यसैबीच नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका छन् ।

मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा विष्टलाई सभामुखको शपथग्रहण गराइएको हो । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सिर्जना दनुवारलगायत सहभागी थिए ।












Discussion about this post