विराटनगर : सामाजिक सञ्जालमार्फत नजिक भएर ‘ब्ल्याकमेल’ गर्दै नेपाली युवतीहरूमाथि बारम्बार यौन शोषण गरेको आरोपमा विराटनगरबाट एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा भारतको जोगवनीका २६ वर्षीय रवि कुमार रहेका छन् ।
विराटनगरको महेन्द्र चोकबाट उनलाई शुक्रबार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
पीडित युवतीबाट उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेको आधारमा प्रहरीले पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो। काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो।
‘भारतीय बजार जोगवनीमा बसेर सामाजिक सञ्जालमार्फत अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्रयापमा पार्दै बारम्बार यौन शोषण गरेको आरोपमा रवि कुमारलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘युवतीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन शोषण गर्ने गरेको खुलेको छ।’ रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले हालसम्म १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा परिसकेको खुलेको छ।
प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए। तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन्।
‘उनीबाट पीडित हुने नेपाली युवतीको संख्या बढ्दै गएको छ। किटानी जाहेरीका आधारमा खोजी भइरहेको थियो,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बेला पक्राउ गरिएको हो। एकपटक यौन सम्बन्धमा बसेका किशोरीको भिडियो बनाएर उल्टै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको छ।’
काठमाडौं प्रहरी परिसरले जबरजस्ती करणी मुद्दा चलाउन उनीमाथि थप अनुसन्धान अगाडि बढाउने जनाएको छ ।














Discussion about this post