इटहरी : इटहरीमा हातहतियार देखाएर शुक्रबार एक सुन पसलमा लुटपाट भएको छ ।
इटहरी वडा नं. ९ मा दीपेन्द्र चोकमा सञ्चालित महालक्ष्मी गहना पसलमा माक्स लगाएर आएका एक पुरुषले मध्यान्ह १२ बजेतिर झन्डै तीन तोला सुन लुटेर लगेका हुन् ।
सुन पसल सञ्चालिका तिला थापामगरका अनुसार माक्स लगाएर आएका एक पुरुषले सुरुमा सिक्री खरीद गर्न माग गरे।
त्यसपछि सुरुवातमा जुन सिक्री थापा मगरले दिइन, त्यो गलामा लगाए। त्यो सिक्री लगाएपछि अरु लामो हेरौ न भनेर अर्को मागेको उनले बताइन् ।
‘त्यत्रै मात्रै छ भनेर मैले हातमा अर्को बोकेपछि जबरजस्ती हात तानेर खोसे, अनि म पछाडि सरेर ठीक मान्छे होइन भन्ने ठानेर फोन गर्न खोजे, उसले फोन नगर्नुहोस् भन्यो, अनि ज्याकेटको चेन उघारेर कालो पेस्तोल देखायो, त्यसपछि चोर भनेर ठूलो आवाजमा कराउन थालेपछि भाग्यो,’ तिलाले भनिन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बाइक पत्ता लगाएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार बाइककै आधारमा सुन लुटेर लैजाने पुरुषको खोजी भइरहेको छ।













Discussion about this post