विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका ७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र (दिसा–पिसाब) खुवाइएको छ ।
कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा ७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार धामी झाँक्रीको काम गर्दै गाउँ घरमा झारफुक गरेर हिँड्ने माझीलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।
माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर र यातना दिएर मलमूत्र खुवाउँदै महिलामाथि अमानवीय व्यवहार गरेको दाहालको भनाइ छ ।
प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको आरोप उनले पीडित महिलालाई लगाइन् ।
पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडित पक्षले बिहीबार साँझ इलाका प्रहरी कार्यालय हरैँचा पुगेर प्रहरीलाई घटनाको जानकारी गराएको थियो । त्यसलगत्तै बोक्सीको आरोप लगाएर अमानवीय हर्कत गर्ने माझी पक्राउ परेकी हुन् ।
माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको थाहा भएपछि बोक्सीलाई गर्ने कारबाही गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
कुटपिट गर्दै यातना दिन थालेपछि पीडितले पटकपटक आफूलाई त्यसो नगर्न आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको पाइएको छ ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।













Discussion about this post