इटहरी (डेस्क) : उदयपुरको बेलका नगरपालिका ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा इटहरीका एकसहित ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहीबार (आज) बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालकसहित ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बोलेरो चालक हतुवागढी गाउँपालिका २ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका २ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनका ६ महिनाका छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका ५ की ३० वर्षीया रामकुमारी राई र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकारी र हतुवागढी गाउँपालिका ५ का ४२ वर्षीय किसान राई रहेका छन् ।
किसानको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने बाँकी ७ जनाको घटनास्थलमै मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका ५ का ३७ वर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका ६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका २ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका १ का १७ वर्षीय सुनील परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी १७ की ३४ वर्षीया गायित्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कट्वाल र इटहरी १७ कै २९ वर्षीया रमा थापा घाइते भएका छन् ।
उनीहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो पनि – बोलेरो दुर्घटना अपडेट : सातजनाको मृत्यु
यो पनि – धरानबाट भोजपुर जाँदै गरेको बोलेरो दुर्घटना हुँदा छ जनाको मृत्यु














Discussion about this post