विराटनगर : कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् ।
विगतका वर्षमा शैक्षिक सत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताब पाउने निश्चित भएको छ ।
स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ ।
जिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई दृष्टिगत गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको बताउनुभयो ।
उहाँले कोशी प्रदेशका पहाडी जिल्ला खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लामा पाठ्यपुस्क पठाइसकिएको जानकारी दिनुभयो ।
पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताउनुभयो । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने र अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकेको बताउनुभयो ।














Discussion about this post