तेह्रथुम : टिएमजे अर्थात्, तीनजुरे, मिल्के, जलजले । कोशी प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य हो – टिएमजे । तेह्रथुम र संखुवासभाको संगमस्थल टिएमजे अहिले लालीगुराँसले रङ्गिएको छ ।
ढकमक्क फुलेको लालीगुराँसको रङ्गिन दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । खासगरी ३२ प्रजातिका गुरासँमध्ये २८ प्रजातिका गुराँस टिएमजे क्षेत्रमा पाइन्छ। राष्ट्रिय फूल रहेको लालीगुराँससहित २८ प्रजातिका गुराँस यस क्षेत्रमा पाइने भएकाले आन्तरिकसहित भारतबाटसमेत पर्यटकहरू आउनेगरेको स्थानीयबासी बताउँछन् ।
विभिन्न प्रजातिका गुराँस ढकमक्क फुलिरहेको दृश्यले मनै लोभ्याउँछ। विशेषतः पहाडी क्षेत्रमा फागुन अन्तिम सातादेखि बैशाख तेस्रो सातासम्म लालीगुराँस फुल्ने गरेको छ । टिएमजे क्षेत्रमा लालीगुराँसबाहेक बार्बाटम, भीरगाटम, लेपिडोटम, ल्वोन्डेसीजस्ता प्रजातिका गुराँस जेठ तेस्रो सातासम्म फुल्छन् ।
तेह्रथुमको सबैभन्दा अग्लो ३ हजार ४५० मिटर उचाइमा रहेको भ्यूटावरबाट आसपासका विभिन्न जिल्ला नियाल्न सकिन्छ । गुराँस फुलेको समयमा यहाँको दृश्य मनमोहक हुन्छ। साथै तीनजुरे क्षेत्रबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल सहजै आँखाको दृश्यमा अटाउन सकिन्छ ।
तीनजुरे पुग्नका लागि धरानबाट करिब ८७ किलोमिटर छ । झण्डै साढे तीन घण्टामा वसन्तपुर पुगिन्छ भने त्यसको करिब आधा घण्टामा तीनजुरे पुगिन्छ । वसन्तपुरको देउरालीबाटै वन, जंगल र चराचुरुंगीका मनमोहक संगीत सुन्न पाइन्छ ।















Discussion about this post